हेटौंडा उपमहानगरपालिकामा मधुमेहका बिरामी र ५० वर्षमाथिका व्यक्तिहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा हेटौंडा-१९ स्थित तपोवन टोल विकास संस्थामा यो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समारोहमा स्थानीय जनप्रतिनिधि, चिकित्सक र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
शिविरमा ९० जनाको आँखा परीक्षण गरिएकोमा २० जनामा मधुमेहका कारण आँखामा समस्या देखिएको छ। विशेषज्ञहरूका अनुसार पछिल्लो समय नेपालमा मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै गएसँगै आँखामा समस्या देखिनेहरूको संख्या पनि बढेको छ।
कार्यक्रमका आयोजकहरूले यस्ता शिविरले समयमै आँखा समस्याबारे सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। विशेषगरी ५० वर्षमाथिका व्यक्तिहरूमा आँखा सम्बन्धी समस्या बढी देखिने तर धेरैजसो जाँच गराउन नजाने गरेको पाइएको छ।
आयोजकहरूले यस्तै शिविर हेटौंडा उपमहानगरपालिकाका सबै वडाहरूमा क्रमिक रूपमा सञ्चालन गरिने जानकारी दिएका छन्।