मकवानपुरको हेटौंडामा एक दम्पति मृत अवस्थामा फेला परेका छन्। हेटौंडा उपमहानगरपालिका-५ स्थित भैरवरोड नजिकै लटिनाथ चिसापानीमा ६२ वर्षीय केशव भण्डारी र उनकी ५६ वर्षीया श्रीमती अम्बिका भण्डारी मृत फेला परेका हुन्।
प्रहरीका अनुसार, सोमबार साँझ करिब ४:४५ बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा केशव भण्डारी आफ्नै घरको कोठामा पंखा झुण्ड्याउने फलामको हुकमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका छन्। त्यसैगरी, अम्बिका भण्डारीको मृत्यु धारिलो हतियारको प्रहारबाट भएको जस्तो देखिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा विशेष टोली खटिएको छ। साथै हेटौंडा अस्पतालबाट चिकित्सक सहितको टोली पनि घटनास्थलमा पुगेको जनाइएको छ।








