हेटौंडा उपमहानगरपालिका वडा २ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको छ।
आज पत्रकार सम्मेलन गरी आगामी शनिबार हुने कार्यक्रममा उपमहानगर प्रमुख मीना कुमारी लामाले यो घोषणा गर्ने कार्यक्रम रहेको वडा २ का अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ।
वडाध्यक्ष महर्जनका अनुसार, बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४६ वटा पूर्णरूपमा र बाँकी ९०% भन्दा बढी हासिल गरिएको बताउनुभयो।
यस वडामा १८ वर्षमुनिका १,८११ बालबालिका छन्। १९ वटा बाल समूह र एक बाल सञ्जालमा ४६० बालबालिका आबद्ध रहेका छन्।
यसअघि हेटौंडा-८ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ। वडा २ नगरको दोस्रो बालमैत्री वडा हुनेछ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ यो अभियान अघि बढाइएको आयोजकले बताएका छन्।
कार्यक्रममा बालमैत्री नगरका सहजकर्ता, समितिका व्यक्तिहरू वडा सचिव र सदस्य लगायतको उपस्थिति थियो।








