हेटौंडा – रिद्धिसिद्धि सिमेन्टले ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१’ कार्यक्रम अन्तर्गत १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। शनिबार आयोजित एक समारोहमा २०८१ सालको एसईई परीक्षामा ३.५ देखि ४ जीपीए ल्याएका विद्यार्थीहरूमध्येबाट छनोट गरिएका विद्यार्थीहरूलाई यो छात्रवृत्ति दिइएको हो।
असार २९ गते पिप्ले रंगशालामा आयोजित परीक्षाबाट छनोट भएका विजेताहरूमा नवोदय शिशु सदनका अदिस लम्साल (८५.४८ अंक) प्रथम, ज्ञानोदय बालबाटिका एकेडेमीका सुमिन मानन्धर (८३.०८ अंक) द्वितीय र आधुनिक राष्ट्रिय माविका ललेन्द्र कुमार शाह (८२.९१ अंक) तृतीय भएका छन्।
छात्रवृत्ति अन्तर्गत प्रथम हुनेलाई मासिक ५ हजार, द्वितीयलाई ३ हजार ५ सय र तृतीयलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। साथै, अन्य १२ जना विद्यार्थीलाई मासिक १ हजार ५ सय रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति दिइने कम्पनीले जनाएको छ।
रिद्धिसिद्धि सिमेन्टका अनुसार यो छात्रवृत्ति कार्यक्रम उनीहरूको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो। गत वर्ष यस्तै कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित भएका थिए।








