हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ लाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले यो घोषणा गरेकी हुन्।
वडाध्यक्ष विष्णु गोपाल महर्जनका अनुसार, वडाले बालमैत्री स्थानीय शासनका लागि तोकिएका ५१ सूचकमध्ये ४५ वटा शतप्रतिशत र बाँकी ९० प्रतिशतभन्दा बढी पूरा गरेको छ।
वडामा १८ वर्षमुनिका १,८११ बालबालिका छन्, जसमध्ये ५२.१३ प्रतिशत बालक र ४७.८७ प्रतिशत बालिका छन्। १९ वटा बाल समूह र एक वडा बाल सञ्जाल गठन गरिएको छ, जसमा ४६० बालबालिका आबद्ध छन्।
हेटौंडा-२ नगरको दोस्रो बालमैत्री वडा बनेको छ। यसअघि वडा नम्बर ८ बालमैत्री घोषणा भइसकेको छ। उपमहानगरपालिकाले २०८० मंसिरसम्ममा सम्पूर्ण नगरलाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य, नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति थियो। घोषणा पूर्व वडाका विभिन्न स्थानमा र्याली निकालिएको थियो।








