स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यस वर्ष हालसम्म २० जनामा हैजा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर र कैलालीमा यी केसहरू फेला परेको जानकारी दिए।
संक्रमणका कारणहरूमा सहरी क्षेत्रमा बढ्दो जनघनत्व, सुरक्षित खानेपानी र स्वच्छताको कमी, तथा बाढीपहिरोले पानी र सरसफाइ पूर्वाधारमा पारेको नकारात्मक प्रभाव रहेको बताइएको छ।
हैजाका मुख्य लक्षणहरूमा पानी जस्तो पातलो दिसा, वाकवाकी, बान्ता र गम्भीर जलवियोजन समावेश छन्। गम्भीर अवस्थामा आँखा गाडिने, मुख सुक्खा हुने, पहेँलो पिसाब, कम रक्तचाप र बेहोस हुनसक्ने जोखिम रहन्छ।
डा. बुढाथोकीका अनुसार, तुरुन्त उपचार नगरे ५०% संक्रमितको मृत्यु हुनसक्छ। ८०% संक्रमितमा लक्षण नदेखिए पनि १० दिनसम्म संक्रामक हुन सक्छन्, जबकि २०% मा गम्भीर लक्षणहरू देखिन्छन्।
मन्त्रालयले सुरक्षित खाना र पानी प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन र शौचालय प्रयोगपछि साबुन पानीले हात धुन सबैलाई आग्रह गरेको छ।