बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने घोषणा गरेको छ। नवनियुक्त मन्त्री प्रेमभक्त महर्जनले पदभार ग्रहण गर्दै यो महत्वपूर्ण निर्णय गरेका हुन्।
मन्त्री महर्जनका अनुसार, यो कदम प्रदेशमा सीपमूलक श्रमको विकास र यातायात क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले चालिएको हो। उनले कम्तीमा २५० महिलालाई तीन र चार पाङ्ग्रे सवारी साधन चलाउने तालिम दिने योजना रहेको जानकारी दिए।
यसका साथै, मन्त्री महर्जनले सवारी चालक अनुमतिपत्र परीक्षामा तीन पटकसम्म असफल हुनेहरूका लागि पुनः परीक्षा दिन ९० दिन कुर्नुपर्ने नियम खारेज गरेका छन्। अब यो अवधि घटाएर एक महिना मात्र कायम गरिएको छ।
नेवारी भाषामा शपथ लिएका मन्त्री महर्जनले पदभार ग्रहण गरेपछि मन्त्रालय अन्तर्गतका कार्यालयहरू र सेवाग्राहीहरूको समस्यामा विशेष ध्यान दिएका छन्। उनले हालै काठमाडौंमा १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गरेका थिए। यस क्रममा सेवाग्राहीहरूले भोग्नुपरेका विभिन्न समस्याहरू, जस्तै लामो प्रतीक्षा समय, सर्भर समस्या र लाइसेन्स छपाईमा ढिलाइ जस्ता विषयहरू उठेका थिए।