जिल्ला ट्राफिक कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले सार्वजनिक सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरेको छ। हेटौंडामा आयोजित यस कार्यक्रममा १५२ जना चालक र सहचालकको स्वास्थ्य, आँखा र लागूऔषध परीक्षण गरिएको छ।
यस्तै उनिहरुको आँखा जाँच गर्दा १ जनामा मोतिया बिन्दु देखिएकोले अप्रेसनको लागि रिफर गरिएको, ३ जना चालकको आँखामा मासु पलाएको, ४ जना चालकको कलर भिजन छुट्याउन नसक्ने, १२ जना दृष्टि दोष र ३ जना चालकको सुगरका कारण आँखाको पर्दामा रगत जमेको भेटिएको कार्यालयले जानकारी दिएको छ ।
विशेष गरी, ६० जना चालकको लागूऔषध परीक्षण गरिएकोमा ४ जनामा गाँजा सेवनको पोजिटिभ नतिजा देखियो। यी चालकहरुलाई सम्झाइबुझाइ गरी भविष्यमा लागूऔषध सेवन नगर्ने प्रतिबद्धता गराइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजाल, जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख प्रहरी निरिक्षक केशव अधिकारी, नारायणी यातायात प्रा.लि. मकवानपुरका अध्यक्ष गोकर्ण पराजुली, नारायणी यातायात व्यवसायी संघ मकवानपुरका महासचिव सरोज खनाल लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।
यस प्रकारको स्वास्थ्य परीक्षणले सवारी दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।