मकवानपुरको मनहरी गाउँपालिका वडा १ मा सामाजिक सुरक्षाभत्ता नवीकरण शिविर सञ्चालन भइरहेको छ।
वडाध्यक्ष शिवप्रसाद खनालका अनुसार, यो शिविर साउन १५ गतेदेखि शुरु भई २१ गते सोमबारसम्म चल्नेछ।
शिविर बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने गरेको छ। यसपछि कार्यालयबाट नियमित सेवा प्रदान गरिन्छ। हालसम्म वडाका विभिन्न स्थानहरू जस्तै गोगनपानी स्कुल, झुल्याण गोगनपानी, चकरी, मकरी कृष्ण मन्दिर र मकरी राधाकृष्ण मन्दिरमा शिविर आयोजना गरिएको छ। सोमबार मकरी पर्तामा अन्तिम शिविर हुनेछ।
वडा सचिव पुजन न्यौपानेले जानकारी दिएअनुसार, वडाका ४१४ जनालाई सेवा दिने लक्ष्य राखिएकोमा हालसम्म २६८ जनाले सेवा लिइसकेका छन्। शिविरबाट सेवा लिन नसकेकाहरूले वडा कार्यालयबाटै सेवा लिन सक्नेछन्।
यस वडाले विगतमा पनि असक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विभिन्न शिविरहरू सञ्चालन गर्दै आएको छ। यसमा स्वास्थ्य शिविर, आँखा परीक्षण शिविर र राष्ट्रिय परिचयपत्र बनाउने शिविर प्रमुख छन्। साथै, “शिक्षा अहिलेको आवश्यकता” भन्ने नाराका साथ शैक्षिक पहुँच बढाउने प्रयास पनि गरिरहेको छ।