काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको वर्तमान राजनीतिक समीकरण भागबण्डा र नियुक्तिका लागि नभएको स्पष्ट पारेका छन्।
सिंहदरबारमा आयोजित बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो समीकरण देशको विषम परिस्थितिलाई सम्बोधन गर्न बनेको हो।”
उहाँले थप भन्नुभयो , “राणाशासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र संघर्षको व्यवस्थापन, गणतन्त्र र संघीयताका लागि यी दुई ठूला दल मिलेरै देशको संकट समाधान भएको छ।”
प्रधानमन्त्रीले बागमती प्रदेश सरकारलाई जनताको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे। उनले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता र राजस्व वृद्धिमा जोड दिए।
“म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई आत्मसात् गरी काम गर्नुहोस्,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई कसैको अपमान नगरी, सबैलाई सम्मान दिँदै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो। 








