हेटौंडा – अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले बागमती प्रदेशको स्वास्थ्य सामग्री भण्डारण भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
३ करोड ५० लाख रुपैयाँको लागतमा निर्मित भवनको औपचारिक हस्तान्तरण कार्यक्रम बिहीबार हेटौंडामा आयोजित गरिएको थियो।
सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई भवन हस्तान्तरण गरिन्।
ग्लोबल फण्डको अनुदानमा निर्मित भवन ४७० वर्ग मिटर क्षेत्रफलमा अत्याधुनिक सुविधायुक्त छ। यसमा अपाङ्गता मैत्री, सीसीटीभी, फायर अलार्म प्रणाली र चौबिसै घण्टा सौर्य उर्जा व्याक-अप जडान गरिएको छ।
भवन निर्माण तीन महिनामा सम्पन्न भएको छ। ठेक्का सम्झौता हाइटेक डेभलपर्स भरतपुरले गरेको थियो।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर रहेको बताए। स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको तीन तहको समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।
सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक क्षेत्रीले स्वास्थ्य सामग्री भण्डारण भवन स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
यो भवन प्रदेशको विकेन्द्रीकृत र पहुँच योग्य स्वास्थ्य प्रणाली अवधारणा अनुरुप निर्माण गरिएको छ। यसले आवश्यक औषधि र मागको व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।








