बागमती प्रदेशमा बालश्रम र बालश्रम नीति सम्बन्धी संवाद कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र नागरिक मञ्चको सहकार्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार, नेपालमा करिब २ लाख बालबालिका अझै जोखिमपूर्ण बालश्रममा संलग्न रहेको पाइएको छ। १४ देखि १७ वर्ष उमेर समूहका १०% र ५ देखि १३ वर्ष उमेर समूहका १८% बालबालिका बालश्रममा रहेको देखिएको छ।
नेपाल बालश्रम प्रतिवेदन २०२१ अनुसार, देशभर करिब ११ लाख बालबालिका बालश्रममा संलग्न रहेका छन्। नेपालको श्रमशक्ति सर्वेक्षण २०१८ ले कुल रोजगारीको ८५% अनौपचारिक क्षेत्रमा रहेको देखाएको छ।
बालश्रमका प्रमुख कारणहरूमा शिक्षामा पहुँचको कमी, सुरक्षित पारिवारिक वातावरणको अभाव, औपचारिक श्रम व्यवस्थापनको कमी र बालश्रम विरोधी चेतनाको अभाव रहेको छ।
नागरिक मञ्चले बालश्रम निवारणका लागि नीतिगत परिमार्जन, संरचनागत सुधार, व्यावसायिक उत्तरदायित्व प्रवर्द्धन र बालबालिकाको सहभागिता बढाउने जस्ता उपायहरू सुझाएको छ।
नेपाल सरकारले बालश्रम अन्त्यका लागि दोस्रो राष्ट्रिय गुरुयोजना (२०७५-२०८५) कार्यान्वयनमा ल्याएको छ र श्रम मन्त्रालय अन्तर्गत एलायन्स ८.७ सचिवालय स्थापना गरेको छ।
कार्यक्रममा प्रदेशका मन्त्री र प्रदेश सभा सदस्य, बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम आसमान नेपाल, राष्टि्य बाल संरक्षण संजाल, दिगो बिकाश लक्ष्य ८.७ को लागी नागरिक मन्च र बाल कल्याण समाज मकवानपुरको सहकार्य र सहयोगमा कार्यक्रम सम्पन्न भएको हो








