हेटौंडा – मकवानपुरको हेटौंडामा एक समाजसेवी दम्पतीले आफ्नो जन्मदिन वृद्धाश्रमका आश्रितहरूसँग मनाएका छन्। हेटौंडा उपमहानगरपालिका-१ गैरीगाउँ निवासी विनोद र पूजा शाहीले सोमबार ॐ वृद्धाश्रममा खाद्यान्न र न्यानो कपडा वितरण गरेका हुन्।
शाही दम्पतीले आश्रमलाई २५ थान न्यानो स्वीटर, एक बोरा चामल, दाल, बिस्कुट लगायत अन्य खाद्य सामग्री प्रदान गरेका छन्। यो सहयोगको कुल मूल्य करिब १७ हजार रुपैयाँ रहेको जनाइएको छ।
“जन्मदिनमा फजुल खर्च र क्षणिक रमाइलो भन्दा बेसहारा र दीनदुःखीहरूसँग यसरी रमाउन पाउनु खुसीको कुरा हो,” शाही दम्पतीले भने। उनीहरूले यसअघि पनि आफ्ना छोराछोरीको जन्मदिन आश्रमका आश्रितहरूसँग मनाउने गरेको बताए।
२०६४ सालमा स्थापित यस आश्रममा हाल २६ जना आश्रित रहेका छन्। आश्रममा १४ वटा सुविधासम्पन्न कोठाहरू रहेको जानकारी दिइएको छ।
यसैबीच, हेटौंडा-१ निवासी समाजसेवी गोपालमान बैद्यले पनि सोही दिन आश्रममा ४ हजार रुपैयाँ सहयोग गरेका छन्।