मकवानपुर – लोपोन्मुख वनकरिया समुदायका महिलाहरूले घरेलु उद्योग स्थापना गरी जडीबुटीबाट साबुन उत्पादन सुरु गरेका छन्। मकवानपुरको मनहरी गाउँपालिका-४ मुसेधापमा बसोबास गर्ने यी महिलाहरूले गत ९ महिनादेखि घ्यूकुमारी, तितेपाती र नीमको पात प्रयोग गरेर साबुन बनाउन थालेका हुन्।
“वनकरिया चेपाङ महिला साबुन उद्योग” नामक यस उद्यमलाई २५ जना वनकरिया महिलाले संयुक्त रूपमा दर्ता गरेका छन्। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको सहयोगमा उनीहरूले साबुन बनाउने तालिम र आवश्यक उपकरण प्राप्त गरेका थिए।
समूहकी अगुवा सन्तोषी वनकरियाका अनुसार, उनीहरूले भाँडा माझ्ने, लुगा धुने र नुहाउने साबुन उत्पादन गरिरहेका छन्। यी साबुन मुख्यतया स्थानीय बजारमा बिक्री हुने गरेका छन्।
“हामीले सानो, मध्यम र ठूलो आकारका साबुन बनाउँछौं,” सन्तोषीले बताइन्, “प्रतिगोटा २० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छौं।”
उनले थपिन्, “पालिकाका कार्यालयहरू र गाउँलेहरूले हाम्रो साबुन किन्छन्। वनकरिया बस्तीका २२ घरपरिवारले पनि यही साबुन प्रयोग गर्छन्।”
यो उद्यमले तीन दशकअघिसम्म जंगलमा फिरन्ते जीवन बिताइरहेका वनकरिया समुदायका महिलाहरूलाई आयआर्जनको अवसर प्रदान गरेको छ। तर पूँजीको अभावले गर्दा हाल उत्पादन सीमित मात्रामा भइरहेको छ।
वनकरिया महिलाहरूले आफ्नै बारीमा नीम र घ्यूकुमारी रोपेका छन् भने तितेपाती स्थानीय क्षेत्रमा प्रशस्त पाइन्छ। उनीहरूको लक्ष्य अब स्थानीय बजारमा आफ्नो पहुँच विस्तार गर्नु रहेको छ।








