हेटौंडा उपमहानगरपालिका-१० मा एक युवतीको हत्या भएको थियो। भदौ १० गते रत्न होटलमा मृत फेला परेकी २३ वर्षीया एलिशा न्यौपानेको हत्यामा उनकै श्रीमान संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, भदौ ९ गते राति होटलमा श्रीमान समिर खानले एलिशाको हत्या गरी फरार भएका छन्। होटलको सीसीटीभी फुटेजमा दुवै जना सँगै प्रवेश गरेको, तर राति ९ बजे समिर मात्र बाहिर निस्केको देखिएको छ। हत्यामा बियरको बोतल प्रयोग भएको अनुमान गरिएको छ।
घटनापछि समिरले एलिशाका भाइलाई पठाएको एक म्यासेजमा झगडाका क्रममा अञ्जानमा एलिशाको मृत्यु भएको स्वीकार गरेका छन्। उक्त म्यासेज केही समयपछि डिलिट गरिएको थियो।
एलिशाका आफन्तका अनुसार, पाँच वर्षअघि उनीहरूले भागी विवाह गरेका थिए। तर समिर पहिल्यै विवाहित रहेको कुरा एलिशालाई पछि मात्र थाहा भएको र त्यसपछि उनीहरूबीच सम्बन्धमा तनाव आएको जनाइएको छ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले अनुसन्धान जारी रहेको र आरोपीलाई चाँडै पक्राउ गरिने बताएका छन्।








