हेटौंडा/ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा (ओपिडी) सुरु गर्ने भएको छ। अस्पतालका निर्देशक धिरेन्द्र गिरीले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो।
भदौ १६ गतेदेखि शनिबार बाहेक दैनिक अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म यो सेवा उपलब्ध हुनेछ। यो विस्तारित सेवा पेइङ सेवा (इ.एच.एस.) को रूपमा सञ्चालन हुनेछ, जसमा विशेषज्ञ चिकित्सकहरूले मात्र सेवा प्रदान गर्नेछन्।
पेइङ सेवाको टिकट शुल्क ५०० रुपैयाँ तोकिएको छ। यस अन्तर्गत जनरल मेडिसिन, स्त्री तथा प्रसूति, बालरोग, नशा तथा हाडजोर्नी, मनोरोग विशेषज्ञ सेवाहरूका साथै भिडियो एक्स-रे र ल्याब सेवा उपलब्ध हुनेछन्। ल्याब परीक्षण शुल्क भने अस्पतालले तोके अनुसार नै हुने जनाइएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले चिकित्सकहरू निजी स्वास्थ्य संस्थामा बिरामी हेर्न जाने अवस्थाको अन्त्यका लागि यो कदम चालिएको बताए। उक्त सेवामा भने बीमाको प्रयोग नहुने बताउनुभएको छ। यो सेवा विशेषगरी व्यस्त हुने समूहको लागि उपयुक्त हुने पनि बताउनुभयो।
यसैगरी, अस्पतालले आइतबारदेखि बीमाका बिरामीहरूका लागि अनलाइन प्रणालीबाट टिकट लिने व्यवस्था पनि सुरु गरेको छ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्यहरूको उपस्थित रहेको थियो।