काठमाडौं – मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरूको हितमा काम गर्दै आएको संस्था विश्वास नेपालको सामाजिक परीक्षण शुक्रबार सम्पन्न भएको छ। यसै अवसरमा संस्थाको नवौं अधिवेशन र १८औं साधारण सभा पनि आयोजना गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले विश्वास नेपालले गरेको कामको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले संस्थाको कामले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए।
सामाजिक परीक्षक बिएम आचार्यले आर्थिक वर्ष २०८०-८१ मा संचालित परियोजना र कार्यक्रमहरूको प्रभावकारिता, बजेट र लाभग्राहीको अवस्थाबारे प्रस्तुति दिए।
विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई मर्यादित श्रमको गन्तव्य बनाउने लक्ष्य राखेर काम गरिरहेको र श्रमिकहरूको आवाजलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा केही दोहोरी साँझ र रेस्टुरेन्टका संचालक तथा प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। साथै, संस्थाबाट लाभान्वित भएकी पूजा खड्काले आफ्नो अनुभव साझा गरिन्।








