बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद क्षेत्रको विकास र युवालाई खेलकुदप्रति आकर्षित गर्न प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–फाखेलमा शनिबार आयोजित दशैँ कप फुटबल तथा महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो ।
स्थानीय तहले जग्गा उपलब्ध गराएको स्थानमा खेल मैदान, स्टेडियम तथा इनडोर खेलकुद संरचना निर्माणका लागि बजेट छुट्याइँदै आएको भए पनि आवश्यकता अनुसार पर्याप्त हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।
खेलकुदमार्फत युवालाई सक्रिय, अनुशासित र सिर्जनशील बनाउनुपर्नेमा जोड दिँदै उहाँले युवालाई खेलकुदमा सहभागी गराउने उद्देश्यले यस वर्ष केही नयाँ कार्यक्रमका लागि बजेटसमेत विनियोजन गरिएको बताउनुभयो ।
प्रदेश गठन भएयता बागमतीका १३ वटै जिल्लामा विभिन्न भौतिक पूर्वाधार निर्माणका काम अघि बढे पनि अन्य क्षेत्रको तुलनामा खेलकुद पूर्वाधारमा लगानी कम भएको उहाँको भनाइ थियो । यसका कारण खेलकुद क्षेत्रको विकास अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
आगामी दिनमा खेलकुद क्षेत्रलाई बजेट निर्माणको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले युवाको प्रतिभा पहिचान, अनुशासन अभिवृद्धि र खेलकुदको समग्र विकासका लागि आवश्यक योजना तथा कार्यक्रम अघि बढाइने बताउनुभयो ।
खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी युवाको व्यक्तित्व विकास, अनुशासन र सामाजिक एकताको माध्यमका रूपमा विकास गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।






