मकवानपुर प्रहरीले एलिसा न्यौपाने हत्या घटनाका मुख्य आरोपी समिर खान उर्फ चाँद खाँ पैठानलाई पक्राउ गरेको छ। न्यौपाने भदौ १० गते हेटौंडा १० स्थित रत्ना होटलमा मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले हेटौंडा ४ कमलडाँडाका ३० वर्षीय पैठानलाई हेटौंडा ५ लट्टीनाथबाट विशेष सूचनाको आधारमा पक्राउ गरेको हो। पैठानलाई एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाको दिन न्यौपाने समिर खानसँग बा ६४ प १३५ नम्बरको स्कुटरमा रत्ना होटल पुगेकी थिइन् र अर्को दिन बिहान मृत अवस्थामा भेटिएकी थिइन्।
होटलका सञ्चालकले कोठा नम्बर २०५ मा बसेकी न्यौपाने बिहान अबेरसम्म नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गरेका थिए। प्रहरी टोलीले जनप्रतिनिधिको रोहबरमा कोठा फोडेर प्रवेश गर्दा न्यौपानेको शव रगतले लतपतिएको अवस्थामा फेला परेको थियो।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार, अनुसन्धानको क्रममा घटनामा संलग्न भएको आरोपमा समिर खानका आमा ५५ वर्षीय सैरुन खान, श्रीमती २६ वर्षीय रविना खातुन, ससुरा ५६ वर्षीय लालबाबु खाँ पैठान, र ३० वर्षीय फैयाज अहमदलाई पनि पक्राउ गरिएको छ।
“हामीले घटनास्थलको सिसिटिभी फुटेज र प्रयोग गरिएको स्कुटरको आधारमा अनुसन्धान गरेका थियौं र मुख्य आरोपी पक्राउ गर्न सफल भयौं,” डिएसपी भण्डारीले बताए।