मकवानपुर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो डेढ महिनामा ४४ लाख ६९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढी हो।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार साउन महिनामा ४,१०७ र भदौ १५ गतेसम्म १,७७९ सवारी साधनलाई कारबाही गरी यो राजस्व संकलन गरिएको हो।
यस वर्ष ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडा कारबाही गरिएको छ। फलस्वरूप सवारी दुर्घटनामा पनि कमी आएको छ। चालु आवको डेढ महिनामा ३८ वटा सवारी दुर्घटना भएका छन्, जसमा एक बालकको मृत्यु भएको छ।
प्रहरी निरीक्षक अधिकारीले भने, “हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ। गत आवमा मात्रै करिब २ लाख जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ।”
उनका अनुसार बढ्दो सवारी चाप, साँघुरो सडक, चालकको लापरबाही र छाडा पशुचौपायाका कारण दुर्घटना हुने गरेकोले यी विषयमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।
यस कदमले राजस्व संकलनमा वृद्धि भएको र दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको अधिकारीहरूको दाबी छ।