हेटौंडा – रोटरी क्लब अफ मकवानपुरले तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। सोमबारदेखि सुरु हुने यस प्रतियोगितामा १५ टिमले भाग लिनेछन्।
आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइयो। हेटौंडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने यस प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडाबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ४० वर्षमाथिका खेलाडीहरूले सहभागिता जनाउनेछन्। भदौ ३१ गतेसम्म चल्ने यस प्रतियोगितामा विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालका अनुसार विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूले पनि पुरस्कार पाउनेछन्। प्रतियोगिताको लागि करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
खेल संयोजक मोहन ढकालले आगामी वर्षहरूमा पनि यस प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको बताए। यसअघि २०७२ र ०७३ सालमा आयोजना गरिएको यस प्रतियोगिताको दुवै संस्करणमा चितवन भेट्रान्स क्लब चितवनले उपाधि जितेको थियो।








