हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ कठायत चोकमा भदौ २१ गते राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका बकैया गाउँपालिका-४ का ४६ वर्षीय उत्तम गौतमको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार, शुक्रबार राति करिब साढे १० बजे हेटौंडाबाट ठूलोदमारतर्फ जाँदै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुर देखेपछि बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक ४४ वर्षीय प्रभाव गौतम सामान्य घाइते भएका थिए भने पछाडि सवार उत्तम गौतमको नाक र टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइतेहरूलाई पहिले हेटौंडा अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवन रेफर गरिएको थियो। तर चितवनको पुरानो मेडिकल कलेजमा उपचार सम्भव नभएपछि गौतमलाई पुनः हेटौंडाको चुरेहिल अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा आइतबार राति ९:२० बजे चिकित्सकले गौतमलाई मृत घोषणा गरेका हुन्।
मृतकको शव चुरेहिल अस्पतालको शवगृहमा राखिएको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल अस्थायी प्रहरी पोस्ट हटियाको नियन्त्रणमा रहेको जनाइएको छ।








