वाग्मती प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा केही महत्वपूर्ण नियुक्तिहरू गरेको छ। प्रदेश नीति तथा योजना आयोगमा नयाँ पदाधिकारीहरू चयन गरिएको छ।
सिन्धुपाल्चोकका गंगादत्त नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ। आयोगका सदस्यहरूमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ ।
यसैगरी, प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरिएको छ। खेलकुद मन्त्रालय कायम भए पनि कानुनी जटिलताका कारण यो नियुक्तिमा ढिलाइ भएको थियो।
बैठकले अन्य केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ। साथै, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि विनियोजित बजेट खर्च गर्न स्वीकृति दिइएको छ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले यी नियुक्तिहरू र निर्णयहरूबारे जानकारी दिनुभएको छ।








