हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा प्रमुख अतिथि रहेका थिए।
सहकारीको आर्थिक वर्ष २०८०/०८१ सम्मको कुल पुँजी ६८ करोड ५५ लाख ९४ हजार ७६४ रुपैयाँ पुगेको छ। संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाका अनुसार सहकारीको शेयर पुँजी ६ करोड ४२ लाख ९ हजार ८ सय रुपैयाँ रहेको छ। साथै, संस्थाले सदस्यहरूलाई ५२ करोड ८८ लाख ४१ हजार २६ रुपैयाँ कर्जा लगानी गरेको छ।
सहकारीमा ५३ करोड २५ लाख १४ हजार ८४५ रुपैयाँ बचत निक्षेप र ४ करोड ५ लाख ७६ हजार ९ रुपैयाँ जगेडा कोष रहेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि संस्थाले ७५ करोड ६० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले सहकारी क्षेत्रमा देखिएका समस्याहरूबारे चिन्ता व्यक्त गरे। उनले भाखा नाघेको ऋणले गर्दा धेरै सहकारीहरूमा समस्या आइरहेको बताए। साथै, उनले उत्पादनसँग जोडिएर कर्जा लगानी गर्न र सदस्यहरूलाई व्यावसायिक बनाउन सीपमूलक तालिमहरू दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक पुरस्कार पनि वितरण गरिएको थियो।