बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारको दुई नयाँ महत्वपूर्ण योजनाहरू सार्वजनिक गरेका छन्। सोमबार बागवानी विकास केन्द्र पाँचखाल र पशु सेवा कार्यालयले संयुक्तरुपमा गरेको आर्थिक वर्ष २०८०/८१ को समिक्षा तथा २०८१/८२ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेशले रैथाने बाली संरक्षणका लागि नयाँ कार्यक्रमको तयारी गरिरहेको बताए ।
उनले रैथाने बाली संरक्षणका विषयमा धेरै प्रचार भइरहेको, तर वास्तविक रुपमा भने संरक्षणका कुनै पनि कार्यक्रम नभएको पाइएको बताए । उनका अनुसार, यस विषयलाई सरकारले पनि चासो नदिएको अवस्था छ ।
प्रदेश सरकारले भने रैथाने बाली संरक्षणका लागि प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकासँग सहकार्य गरेर संरक्षण गर्न फरक अनि नयाँ खालको कार्यक्रम गर्ने योजना बनाइरहेको उनले बताए ।त्यस्तै, किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सघाउनको लागि प्रदेश सरकारले प्रदेशका ११९ वटै पालिकामा हाट बजार सञ्चालन गर्ने योजना बनाएको मन्त्री श्रेष्ठले बताए । उनका अनुसार, बिचौलियाको हाबीका कारण वास्तविक किसानले आफूले उत्पादन गरेको कृषि उपजको राम्रो मूल्य पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेशका सबै पालिकामा हाट बजार सञ्चालन गर्ने योजना बनाएको छ ।
मन्त्री श्रेष्ठका अनुसार यी कार्यक्रमहरूले किसानहरूको हित संरक्षण, कृषि क्षेत्रको विकास, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र किसानहरूको आर्थिक स्थिति सुधारमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।