मकवानपुर प्रहरीले आइतबार भन्सार छली गरी ल्याइएको करिब ३१ लाख रुपैयाँ मूल्य बराबरको लत्ताकपडा सहित विभिन्न सामानहरू बरामद गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोष्टमा गरिएको जाँचका क्रममा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको WB49N2178 नम्बरको भारतीय यात्रुबाहक बसबाट उक्त सामान फेला परेको हो।
बरामद सामानहरूमा १०६० थान कुर्ती, २७० थान तुलसीको प्याकेट, ९६० थान ‘मोज मस्ती दौड’ लेखेको वस्तु, तामाका सामान, सुन सफा गर्ने ब्रस, ग्यास लाइटर लगायत रहेका छन्। यी सामानहरू बसको विभिन्न भित्री भागमा फल्स बटम बनाई लुकाइएको अवस्थामा फेला परेका थिए।
घटनामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बसका चालक भारतीय नागरिक पश्चिम बंगाल जिल्ला मदेनिपुर ग्राम तमलुक बस्ने बर्ष ३१ को सदाम खान, सोही बसकका अर्का चालक पश्चिम बंगाल वंकुरा ग्राम रतनपुर बस्ने बर्ष ३८ को काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर ग्राम बस्ने बर्ष ३० को जयदेव हेमराम रहेका छन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाएको जनाएको छ।