मनहरी गाउँपालिका-५ बसन्तपुरकी ४० वर्षीया सोनु राईले आफ्नो जीवनमा नयाँ आशा पाएकी छिन्।
३२ वर्षकै उमेरमा श्रीमान् नरबहादुर राईको निधनपछि एक्लै छाप्रोमा बस्दै आएकी सोनुलाई गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले नयाँ घर निर्माण गरिदिएका छन्।

पुरानो घर जहाँ सोनु बस्थिन्।
करिब २ लाख ५० हजार लागत लागेको उक्त घरका चाबी आज अध्यक्ष कालाखेती ले हस्तान्तरण गर्नुभएको हो।

घरको चाबी पाउँदा दङ्ग सोनु
स्थानीय बासिन्दाहरूको पहलमा गाउँपालिका अध्यक्षले आफ्नो तलब र भत्ताको कोषबाट सोनुका लागि घर बनाइदिएका हुन्। नयाँ घरको साँचो हातमा लिँदा सोनु भावुक भइन् र धन्यवाद दिन शब्द नै फेला पार्न सकिनन्।
“अब मैले आफूसँग भएको ऐलानी जग्गामा खेतीपाती गरेर जीविका चलाउनेछु,” सोनुले आफ्नो भविष्यको योजना बताइन्। उनले थप सहयोगको आशा गर्दै आफू मेहनत गरेर अघि बढ्ने दृढता व्यक्त गरिन्।

राम्रो काम गर्ने मौका दिनुभएको भन्दै छिमेकीलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष कालाखेती
छोराछोरी र नजिकका आफन्तहरू नभएकी सोनुको जीवन संघर्षमय थियो। उनी राम्रोसँग बोल्न नसक्ने र आर्थिक रूपमा कमजोर अवस्थामा थिइन्। तर अहिले गाउँपालिका अध्यक्षको यस पहलले उनको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ।
गाउँपालिका अध्यक्षले यस्ता सहयोग आवश्यक पर्ने अन्य व्यक्तिहरूलाई पनि आफ्नो कोषबाट सहयोग गर्दै आएको जानकारी दिनुभएको छ । यस कदमले समाजमा सकारात्मक सन्देश दिएको छ र अन्य नेतृत्वकर्ताहरूलाई पनि यस्तै मानवीय कार्य गर्न प्रेरित गर्ने उहाँको विश्वास छ।







