हेटौंडा – बालश्रम अन्त्य र बाल संरक्षणका लागि मकवानपुर जिल्लाका तीन गाउँपालिकाबीच समन्वय बैठक सम्पन्न भएको छ। राक्सिराङ गाउँपालिकाको आयोजनामा बाल कल्याण समाज र आसमान नेपालको सहकार्यमा आयोजित उक्त बैठकमा राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष बनस्तम थिङले बालश्रम अन्त्यका लागि संयुक्त कार्यक्रम र बाल संरक्षणको कार्ययोजना तयार गर्ने बैठकको उद्देश्य रहेको जानकारी दिए। उनले धार्मिक शिक्षाको नाममा बालबालिकालाई विद्यालय शिक्षाबाट वञ्चित गराउने र बालभरिया प्रथाप्रति चिन्ता व्यक्त गरे।
मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले आफ्नो पालिकाले बालश्रम अन्त्यका लागि होटल, ग्यारेज, घर र ईंटाभट्टाको अनुगमन गरी फेला परेका बालश्रमिकलाई विद्यालयसम्म पुर्याउन छात्रवृत्ति र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन्।
कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बाल अधिकारबारे सचेतना र बालश्रमको नकारात्मक पक्षबारे अभिभावकलाई शिक्षा दिने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
बैठकले तीनवटै पालिकाबीच संयुक्त रूपमा बालश्रमको अनुगमन गर्ने निर्णय गरेको छ। फेला परेका बालश्रमिकको व्यवस्थापन सम्बन्धित पालिकाले गर्ने सहमति भएको छ। साथै, सडक बालबालिकामुक्त पालिका बनाउन राष्ट्रिय बाल अधिकार परिषद र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्ने निर्णय गरिएको छ।
बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले यस प्रकारको समन्वय बैठकलाई सकारात्मक रूपमा लिएको बताए। उनले राज्य र नागरिक समाजबीच समाजमा रहेका विकृतिहरू हटाउन गरिएको यो प्रयास अनुकरणीय भएको उल्लेख गरे।
बैठकमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन छात्रवृत्तिको संख्या बढाउने, बाल क्लब परिचालन र क्षमता विकास गर्ने, तथा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।
बैठकमा कुल १६ जनाको सहभागिता रहेको थियो, जसमा तीनवटै गाउँपालिकाका उपाध्यक्षहरू, शिक्षा अधिकृतहरू, रोजगार संयोजकहरू र अन्य सम्बन्धित अधिकारीहरू सामेल थिए।







