मकवानपुर । हेटौंडा एडभेन्चर क्लबको आयोजना भएको प्रथम हेटौंडा सम्पदा यात्रा सम्पन्न भएको छ । हिजो ( शनिवार ) ६३ वटा मोटरसाइकलमा करिब १ सय १५ जनाले १ सय २७ किलोमिटरको यात्रा तय गर्दै हेटौंडा सम्पदा यात्रा सम्पन भएको क्लबका अध्यक्ष सुशिल सुवेदीले बताए । सम्पदा यात्राको उद्दघाटन कार्यक्रममा हेटौंडा – ४ का वडाध्यक्ष नविन सिग्देलले सम्पदा यात्राको उदेश्य प्राप्ति र सहभागीहरुलाई शुभकामना दिदै पशुपति मन्दिरबाट यात्राको सुरुवात भएको थियो ।
हेटौंडा – ४ स्थित पशुपति मन्दिरबाट सुरु भएको सम्पदा यात्रा हेटौंडा -४ स्थित जामे मस्जिद हुँदै भुटनदेबी मन्दिर ,पाथिभरा मन्दिर ,मनमोहन भ्युटावर ,शहिद स्मारक पुण्य क्षेत्र,बनस्पति , कुष्माण्ड सरोवर हुँदै हेटौंडा -१५ मा रहेको चुरियामाई मन्दिर पुगेको थियो। यस्तै सन्पदा यात्रामा सहभागीहरुले दक्षिण एसियाकै पहिलो सुरुङमार्ग ( चुरेमाई),कमाने स्थित लोकतान्त्रिक पोखरी,बनदेबी मन्दिर,थेक्छेन छोईलिङ गुम्बा ,जुरेथुम,गुम्बाडाडाँ ,मकवानपुर गढी,शिखरकटेरी,मनकामना मन्दिर हुदै नागस्वती न्युरेनी स्थित पशुपति मन्दिरको अवलोकन गरेको क्लबका अध्यक्ष सुवेदीले बताए । यात्राको क्रममा शहिद स्मारक,नागस्वती चोक,मकवानपुर गढि तथा कुष्माण्ड सरोवरमा यात्रामा सहभागीहरुलाई स्वागत गरेका थिए ।
यस्तै सोही क्रममा पशुपति मन्दिरमा आई समापन भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले यात्रामा सहभागी यात्रुहरुलाई मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्दै युवाहरुले स्वतस्फूर्त रुपमा यस्ता कार्यक्रम गरि पर्यटन प्रबर्द्धन गरेकोमा खुशि ब्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्नको लागि आग्रह गरे । समापन कार्यक्रमका सभाध्यक्ष सुवेदीले संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।