हेटौंडा उपमहानगरपालिका-१५ ले नदीजन्य पदार्थको चोरी निकासी र अवैध उत्खनन नियन्त्रण गर्ने उद्देश्यले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
बुधबार वडा कार्यालयको आयोजनामा भएको यस कार्यक्रममा स्थानीय निकाय, सुरक्षा अधिकारी र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
पछिल्लो समयमा हेटौंडा-१५ को हरियाली टोल क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी बढेको स्थानीयवासीको गुनासो गरेका थिए । यस समस्यालाई सम्बोधन गर्न वन कार्यालय, प्रहरी, नगरपालिका, टोल विकास संस्था र स्थानीय समुदायका प्रतिनिधिहरू बीच छलफल भएको छ।
कार्यक्रममा वडाध्यक्ष सुनिल मुक्तानले यस्तो गैरकानूनी गतिविधि रोक्न स्थानीयको भूमिका महत्वपूर्ण रहेको बताए। उनले अवैध गतिविधि देखेमा तत्काल सम्बन्धित निकायलाई सूचित गर्न आग्रह गरे।
स्थानीय प्रतिनिधिहरूले चोरी निकासी रोक्न प्रयास गर्दा धम्की पाएको र कारबाहीको डर देखाइएको गुनासो गरे। उनीहरूले सम्बन्धित निकायहरूले यस मुद्दालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।
हेटौंडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख नवीन सुवेदीले स्रोत र साधनको कमीले गर्दा प्रभावकारी अनुगमन गर्न कठिनाई भएको स्वीकार गरे। वन कार्यालयकी प्रतिनिधि सबिना रिजालले वातावरणीय प्रभाव मूल्यांकन नगरी गरिने उत्खनन अवैध हुने स्पष्ट पारिन्।

प्रहरी निरीक्षक विमला कठायतले यस्ता गतिविधि रोक्न आवश्यक सुरक्षा सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाइन्।
यस अन्तरक्रियाले स्थानीय समुदाय र सरकारी निकायहरू बीच समन्वय बढाउने र नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले यस समस्याको दीर्घकालीन समाधानको माग गरेका छन्।







