हेटौंडा/पशु सेवा कार्यालय मकवानपुरले विश्व रेबिज दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ। शुक्रबार कार्यालयको आयोजनामा रेबिज सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको थियो। उनले भने, “समुदायमा रेबिज फैलाउने जनावरहरूको विषयमा राष्ट्रसेवक प्रहरीहरूलाई जानकारी दिइएको छ।”
कार्यालयले सुपारिटार व्यारेकमा पुगेर नेपाली सेनाका जवानहरूलाई पनि रेबिजको बारेमा जानकारी दिएको जनाइएको छ।

बुधबारदेखि नै विभिन्न सचेतनामूलक कार्यक्रमहरू सुरु गरिएको छ। बुधबार हेटौंडा-१ लालझाडीको श्री बाराही आधारभूत विद्यालयमा र बिहीबार हेटौंडा-१४ नयाँबस्तीको दिव्यज्योति निम्न माध्यमिक विद्यालयमा रेबिज सम्बन्धी जानकारी दिइएको थियो।
डा. ठाकुरले भने, “प्रायः बालबालिकाहरू रेबिजको जोखिममा रहने भएकाले विद्यालयस्तरमा यस्ता कार्यक्रमहरू आयोजना गरिएको हो।”

विश्व रेबिज दिवसको अवसरमा शनिबार हेटौंडा-१० बसपार्कमा सामुदायिक तथा घरपालुवा कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ। कार्यालयले मकवानपुरका १० वटा स्थानीय तहलाई १२०० डोज रेबिजको खोप वितरण गरेको छ। साथै, पशु सेवा कार्यालयमा निःशुल्क खोप उपलब्ध रहेको जानकारी दिइएको छ।
प्रत्येक वर्षको सेप्टेम्बर २८ तारिखमा विश्व रेबिज दिवस मनाइन्छ।







