भारी वर्षा र माथिल्लो क्षेत्रबाट आएको उच्च जलप्रवाहका कारण इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज बिहान जारी गरेको सूचनामा यसबारे जानकारी दिइएको हो।
सूचना अनुसार, जलाशयमा क्षमताभन्दा बढी पानी भरिएकाले बाँधको सुरक्षालाई ध्यानमा राख्दै आज बिहान ४:५० बजे बाँधका दुई वटा ढोका खोलेर पानी निकासको काम सुरु गरिएको छ। बाँधमाथिबाट पानी ओभरफ्लो भइरहेको र थप जोखिम बढ्न सक्ने भएकाले आवश्यकता अनुसार अन्य ढोकाहरू पनि खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ।
यस परिस्थितिमा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने खतरा बढेको छ। प्रशासनले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
साथै, सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई उच्च सतर्क रहन र सुरक्षित स्थानको पूर्वतयारी गर्न निर्देशन दिइएको छ।
निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। यसलाई मध्यनजर गर्दै जिल्लास्थित सबै सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ।
प्रशासनले सबै नागरिकहरूलाई सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आधिकारिक सूचनाहरूको पालना गर्न जिल्ला प्रशासन मकवानपुरले अनुरोध गरेको छ।