मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा शनिबार बिहान आएको पहिरोमा पुरिएर ६ जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ।
मृतकमध्ये एक जना मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानका छोरा अनुप घलान रहेको पुष्टि भएको छ। अध्यक्ष घलानले आफ्नो फेसबुक पेजमार्फत यो दुःखद खबर सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, “छोरा अनुपम मैले तिमीलाई बचाउन सकिनँ……”
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार, अन्य मृतक र बेपत्ता विद्यार्थीहरूको पहिचान खुलाउन बाँकी छ। प्रारम्भिक जानकारी अनुसार बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका दिवश बानियाँ र सुमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका थिए।
घटना सिस्नेरी खोलामा बाढी आएपछि विद्यार्थीहरू सुरक्षित स्थानतर्फ जाने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा भएको थियो। एकेडेमीमा कुल ४० विद्यार्थी अध्ययनरत थिए।
सुरक्षित रहेका ३४ विद्यार्थीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने काम भइरहेको छ। एन्फाले गत वर्षदेखि यस स्थानमा श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गरी विद्यार्थीहरूलाई नियमित अध्ययनका साथै फुटबल प्रशिक्षण दिँदै आएको थियो।








