पहिरोमा परि अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीको ६ जना खेलाडीले ज्यान गुमाएका छन् । ४० खेलाडी राखिएको होस्टेलबाट ३४ खेलाडीको भने उद्धार गरिएको छ ।
मकवानपुरको एन्फा एकेडमीका खेलाडीको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो भने ज्यान गुमाएका ६ खेलाडीको पोस्टमार्टको लागि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको छ ।
३४ मध्ये ३० खेलाडीलाई काठमाडौं ल्याइएको छ भने बाँकी चार जना स्थानीय खेलाडी चाहिँ मकवानपुरमा नै सुरक्षित स्थानमा बसेका छन् । हिजो र आजको अविरल वर्षाको कारण ४० खेलाडी रहेको एन्फा एकेडेमीको होस्टेल बाढीको जोखिममा परेको थियो । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको ढोका खोलिएपछि सिस्नेरी खोलामा बाढीको मात्रा बढ्दा खेलाडीहरु सुरक्षित स्थान खोज्न बाहिरिएका थिए ।
बाहिरिएकामध्ये ६ खेलाडी पहिरोसँगै बेपत्ता भएका थिए । उद्धार गरिएका खेलाडीलाई सातदोबाटोको एन्फा कम्प्लेक्समा राखिएको छ । होस्टेलमा राखिएका खेलाडीका आमाबाबु आए घर जान दिने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभएका छन् ।
बन्द प्रशिक्षणमा रहेको नेपाली सिनियर महिला टिम पनि एन्फा कम्प्लेक्समा नै छ । वत्सलादेवि माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका र एन्फा एकेडेमीमा रहेर फुटबल सिकिरहेका खेलाडी देशभरबाट छानिएका उमेर समूहका खेलाडी थिए ।