हेटौंडा – शनिबार पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका तीन विद्यार्थीको शव सोमबार हेटौंडा ल्याइएको छ। मकवानपुरका साइमन योन्जन र अनुप घलान तथा बाराका विकल रेग्मीको शव हेलिकोप्टरमार्फत हेटौंडा ल्याइएको हो।
जिल्ला खेलकुद समितिले शवलाई नगर परिक्रमा गराई हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रा चौरमा श्रद्धाञ्जलीसभा आयोजना गरेको थियो। सभामा प्रदेश मन्त्री, खेलाडी, राजनीतिक नेता र आम नागरिकको उपस्थिति रहेको थियो।
गत बिहीबारदेखिको अविरल वर्षाका कारण सिस्नेरी खोलामा आएको बाढीबाट बच्न सुरक्षित स्थानतर्फ जाँदै गर्दा माथिबाट आएको पहिरोले पुरिएर एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु भएको थियो। मृत्यु हुनेमा मकवानपुरका तीन र काठमाडौं, मकवानपुर र सर्लाहीका एक-एक जना विद्यार्थी छन्।एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ मा स्थापना गरेको युथ-१४ क्याम्पमा ४० विद्यार्थी अध्ययनरत थिए। गत वर्षदेखि एन्फाले श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गरी विद्यार्थीहरूलाई नियमित शिक्षाका साथै फुटबल प्रशिक्षण दिँदै आएको थियो।