मकवानपुर – मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरले मकवानपुरको सिस्नेरीबाट दुई गर्भवती महिलाको उद्धार गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीबाट उद्धार गरिएका महिलाहरू हुन् – दाप्राङकी सुकिमाया वाइवा र सानुटारकी सुशीला घिसिङ।
उद्धार गरिएका दुवै महिलालाई ललितपुरस्थित पाटन प्रसुति अस्पताल पुर्याइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थ चिलुवालले बताए अनुसार, इन्द्रसरोवर गाउँपालिकाले दुवै गर्भवती महिलाको अवस्था गम्भीर रहेको जानकारी गराएपछि गृह मन्त्रालयसँगको समन्वयमा उद्धार गरिएको हो।
यी महिलाहरू सुत्केरी हुने समय नाघिसकेका र ४-५ दिन अघिदेखि नै सिस्नेरी स्वास्थ्य चौकीमा भर्ना भएका थिए। तर प्रसूति गराउन नसकिएपछि गाउँपालिकाले उनीहरूको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क गरेको थियो।
यसैबीच, शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी र पहिरोले मकवानपुरका विभिन्न गाउँपालिकाबाट सदरमुकाम हेटौँडा र काठमाडौं जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन्। यसले गर्दा सर्वसाधारणले यातायातमा कठिनाई भोगिरहेका छन्