कैलाश गाउँपालिकाले भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दीहरूलाई दसैं मनाउन सहयोग पुर्याएको छ। गाउँपालिकाले विजयादशमीको अवसरमा कारागारमा रहेका कैदीबन्दीहरूका लागि खसी र खाद्यान्न उपलब्ध गराएको हो।
मंगलबार गाउँपालिकाका पदाधिकारीहरूले कारागार पुगेर कैदीबन्दीहरूलाई दुईवटा खसी, ६ बोरा चिउरा र दुई कार्टुन तेल हस्तान्तरण गरे। यस कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नम्बर ७ का वडाध्यक्ष उदासकुमार भोलन र लेखा अधिकृत नवीन धिताल सहभागी थिए।
अध्यक्ष मुक्तानका अनुसार कारागारमा रहे पनि नेपालीहरूको ठूलो चाड दसैंमा कैदीबन्दीहरूले पनि खुसी मनाउन सकून् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो। यस अवसरमा कैलाश गाउँपालिकाका घरका कैदीबन्दीहरूसँग दसैंको शुभकामना आदान-प्रदान पनि गरियो।
कारागार प्रशासनले दिएको जानकारी अनुसार यस कारागारमा दुईवटा पुरुष ब्लक र एउटा महिला ब्लक छन्। हाल कारागारमा १,०४४ पुरुष, ४८ महिला कैदीबन्दी र एक जना आश्रित नाबालक रहेका छन्।