मकवानपुरको भीमफेदी गाउँपालिका-४ र ६ को सीमानामा रहेको गोल्फिङबेशीमा बुधबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्।
स्थानीय युवा बादल सिल्वालका अनुसार बुधबार साँझ ७ बजेतिर काठमाडौंको कोटेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको बस सडकबाट करिब १० मिटर तल खसेको हो। स्थानीय बासिन्दाहरूले तत्काल उद्धार कार्य गरेका थिए।
“हामी स्थानीयले सबै यात्रुहरूको उद्धार गर्यौं। पाँचजना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएका छौं,” सिल्वालले बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली घटनास्थलतर्फ खटिएको छ। प्रहरीले बसमा करिब ३५ जना यात्रु सवार रहेको जनाएको छ।
स्थानीयहरूका अनुसार उक्त बस चन्द्रागिरी हुँदै कुलेखानीबाट भीमफेदी मार्ग हुँदै हेटौंडातर्फ आउँदै गरेको थियो। “चालकलाई यो मार्गको बारेमा राम्रो जानकारी नभएको देखिन्छ,” स्थानीय युवा सिल्वालले बताए।








