मकवानपुरको मनहरी गाउँपालिकाले स्थानीय दूग्ध उत्पादक किसानहरूको दूध बिक्रीको जिम्मेवारी लिने भएको छ। गाउँपालिकाको पशुपन्छी विकास शाखाका अनुसार आगामी कात्तिक १ गतेदेखि किसानहरूले गाउँपालिका मार्फत दूध बिक्री गर्नेछन्।
यसअघि किसानहरूले जिल्ला दुग्ध उत्पादक सहकारी संघमार्फत दूध बिक्री गर्दै आएका थिए। तर भुक्तानीमा ढिलाइ हुने गरेको गुनासो आएपछि गाउँपालिकाले यो जिम्मेवारी लिएको हो।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भने, “हामी अब कृषकसँग दूध खरिद गर्छौं र डेरीलाई बिक्री गरेर १५-१५ दिनमा किसानलाई भुक्तानी दिन्छौं।” उनका अनुसार किसानहरूले समयमै भुक्तानी नपाउँदा समस्या भएकोले गाउँपालिकाले यो कदम चालेको हो।
गाउँपालिकाले हेटौंडा डेरी इण्डष्ट्रिजसँग दूध खरिदबिक्रीको सम्झौता गरेको छ। सम्झौता अनुसार डेरीले मासिक रूपमा गाउँपालिकालाई भुक्तानी गर्नेछ र गाउँपालिकाले किसानलाई पाक्षिक रूपमा भुक्तानी दिनेछ।
मनहरीका ६ वटा दुग्ध सहकारीमा करिब १४०० किसान आबद्ध छन्। गत आर्थिक वर्षमा यी सहकारीहरूबाट वार्षिक २१ लाख ६५ हजार लिटरभन्दा बढी दूध उत्पादन भएको थियो।
स्थानीय किसानहरूले यो नयाँ व्यवस्थाप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले समयमै भुक्तानी पाउने आशा गरेका छन्। गाउँपालिकाले यो व्यवस्था २०८२ असार मसान्तसम्म लागू हुने जनाएको छ।







