हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा भएको चोरीको घटना एक साता बितिसक्दा पनि स्थानीय प्रशासन र प्रहरीबीच समन्वयको अभाव देखिएको छ। हेटौंडा-९, लामसुरेस्थित उद्योगमा असोज २२ गते राति १ सय ५० मिटर जति करिब १० लाख रुपैयाँ मूल्य बराबरको क्रसर प्रयोग हुने तार चोरी भएको थियो।
उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले चोरी भएको पुष्टि गर्दै भने, “हामीले यस विषयमा सुरक्षा प्रदान गर्ने गार्ड कम्पनीसँग छलफल गरिसकेका छौं। असुलउपर गर्ने प्रक्रिया पनि अगाडि बढेको छ।”
उद्योग प्रशासनका अनुसार घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताएको छ। तर मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालले भने घटनाबारे बुधबार साँझमात्र जानकारी पाएको बताए। उनले भने, “हामीलाई घटनाबारे जानकारी गराइएको थिएन। हिजो मात्रै उद्योगको लेटर प्याडमा जाहेरी आएको र त्यस लगत्तै हामीले प्रहरी परिचालन गरेका छौं।”
प्रहरी अर्यालका अनुसार घटनाको समयमा खटिएका गार्डले आफू एक्लो भएको कारण लुकेर बसेको बताएका छन्। प्रहरीले उक्त गार्डलाई नियन्त्रणमा लिने प्रक्रिया सुरु गरेको छ।
उद्योगमा काठमाडौंको बज्र सेक्युरिटी कम्पनीले सुरक्षा प्रदान गर्दै आएको छ। प्राविधिक टोलीले चोरी भएको सामानको मूल्य निर्धारण गरिरहेको र केही दिनभित्रै सबै विवरण सार्वजनिक हुने उद्योग प्रशासनले जनाएको छ।







