बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले वीरगञ्जस्थित राष्ट्रिय आविष्कार केन्द्रको बाट सञ्चालित कृषि औजार कारखाना अवलोकन गरेका छन्।अवलोकनका क्रममा मन्त्री श्रेष्ठले कारखाना सञ्चालनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले बागमती प्रदेशका किसानहरूलाई आवश्यक पर्ने कृषि तथा अन्य औजारहरू स्थानीय स्तरमै उत्पादन गर्न जोड दिए। “बजारको माग र भौगोलिक विशेषता अनुरूपका औजार उपकरण निर्माण गर्नुपर्छ,” मन्त्री श्रेष्ठले भने।
यसअघि चीन र भारत लगायत विदेशबाट आयात गरिने कृषि औजारहरू अब स्वदेशमै उत्पादन गर्ने लक्ष्य रहेको मन्त्री श्रेष्ठले बताए। “यसले विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गर्नेछ,” उनले थपे।
राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर रितेश देवले केन्द्रमा भइरहेका कामबारे मन्त्रीलाई जानकारी गराए। मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा कारखाना सञ्चालनका लागि आवश्यक रकम विनियोजन गर्ने आश्वासन दिए।
यस अवसरमा वन मन्त्री कृष्ण सिलवाल लगायतको टोलीले पनि कारखाना र आविष्कार केन्द्रको अवलोकन गरेको थियो।








