मकवानपुरको मनहरी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक किसानहरूको हितमा महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी किसानहरूलाई महिनाको दुई पटक दूधको भुक्तानी दिने व्यवस्था मिलाएको छ।
यसअघि किसानहरूले आफूले बिक्री गरेको दूधको रकम समयमा नपाएर समस्या झेल्दै आएका थिए। अब गाउँपालिकाले उत्पादनको बजार सुनिश्चितता गरेसँगै किसानहरूले समयमै भुक्तानी पाउने भएका छन्।
गाउँपालिकाले हेटौंडा-१९, नेवारपानीमा रहेको हेटौंडा डेरी इण्डष्ट्रिज र दुग्ध उत्पादक सहकारीसँग सम्झौता गरेको छ। यसका साथै मनहरी-८ मा रहेको सानाकिसान कृषि सहकारी संस्था र गाउँपालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीसँग पटक-पटक छलफल गरी यो निर्णयमा पुगेको हो।
अब गाउँपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीबाट दूध खरिद गरेर हेटौंडा डेरी इण्डष्ट्रिजलाई बिक्री गर्नेछ। उद्योगले प्रत्येक महिनाको दुई पटक किसानलाई दूधको भुक्तानी उपलब्ध गराउने छ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यो निर्णयले किसानहरूलाई राहत दिने बताएका छन्। उनका अनुसार अब किसानहरूले ४-५ महिनासम्म भुक्तानीको लागि कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। साथै, किसानहरूको पुरानो बक्यौता रकम मंसिर १० गतेभित्र भुक्तानी हुने जानकारी दिइएको छ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले यस कदमले किसानहरूको समस्या समाधान हुने र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेकी छिन्। उनका अनुसार मनहरीमा ६ वटा सहकारीले दूध बिक्री गर्दै आएका छन् र अब प्रत्येक किसानले १५-१५ दिनमा भुक्तानी पाउनेछन्।
मनहरी गाउँपालिकामा दैनिक ६ हजार ५ सय देखि ७ हजार लिटरसम्म दूध उत्पादन हुँदै आएको छ। स्थानीय सानाकिसान सहकारीका अध्यक्ष विमला कार्कीले यो निर्णयले किसानहरूलाई सहज हुने र वर्षौंदेखि झेल्दै आएको भुक्तानीको समस्या समाधान हुने आशा व्यक्त गरेकी छिन्।








