हेटौंडा – रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरले विश्व पोलियो दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएका छन्।
मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले कार्यक्रमबारे जानकारी दिएका छन्। उनका अनुसार कार्तिक ७ गतेदेखि हेटौंडाका विभिन्न संघसंस्था र होटलहरूमा पोलियोसम्बन्धी सूचनामूलक ब्यानर राखिनेछ।
कार्तिक ८ गते बिहान ७ बजे मकवानपुर उद्योग वाणिज्य संघबाट सुरु हुने साइकल र्याली नगर परिक्रमा गरी समापन हुनेछ। सोही दिन हेटौंडाको सिमाचोकमा रहेको डिजिटल बोर्डमा ‘इन्ड पोलियो नाउ’ सन्देश प्रसारण गरिने र बेलुकी बुद्धचोकमा दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिनेछ।
नेपालमा १६१ वटा रोटरी क्लबहरू क्रियाशील रहेका छन्। विश्वबाट पोलियो भाइरस उन्मूलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी काम गर्दै आएको छ। नेपालमा भने आधिकारिक रूपमा पोलियोको बिरामी भेटिएका छैनन्।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा उद्योगी-व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएका छन्।