हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज (बिहिबार) पत्रकार सम्मेलन गरी विभिन्न चोरीका घटनामा संलग्न १० जना र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ।
हेटौंडा सिमेन्ट उद्योगबाट बिजुलीको तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। असोज २३ गते राति भएको चोरीमा संलग्न हेटौंडा-१२ का मनिराज थोकर, हेटौंडा-१३ का सन्त बहादुर तितुङ र भारत मोतिहारीका दिल खुश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, नेवारपानी प्रहरीले १०५ किलो ६९ ग्राम गाँजासहित हेटौंडा-३ बसामाडीका पन्चलाल थिङलाई पक्राउ गरेको छ। योद्धा पिकअप गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।
हेटौंडा-८ को कर्णावती मार्गमा निर्माणाधीन घरबाट बिजुलीको तार चोरी गरेको आरोपमा सुमन राई, समिर घिमिरे र सुशान्त श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठले हेटौंडा फन भिल्लाबाट साउन्ड सिस्टम र नगद चोरी गरेको र हेटौंडा-२ बाट मोटरसाइकल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
फास्ट ट्र्याकमा वेल्डिङको काम गर्ने राजेश्वर चौधरी र राहुल चौधरीलाई समेत ३७ किलोभन्दा बढी बिजुलीको तारसहित मकवानपुरगढीबाट पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र फरार अन्य व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ।







