हेटौंडा/ बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई प्रदेशको उत्कृष्ट अस्पताल घोषणा गरेको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा गोष्ठीमा भक्तपुर अस्पतालले सेवा सुविधा र कार्यसम्पादनको मूल्यांकनमा १०० मध्ये ८३.४४ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो। सिन्धुली अस्पताल ७८.४७ अंकसहित दोस्रो र धादिङ अस्पताल ७७.४७ अंकसहित तेस्रो भएका छन्।
जनस्वास्थ्य कार्यालयतर्फ ललितपुरले ७५.२४ अंकसहित पहिलो स्थान हासिल गरेको छ। चितवन ७३.७५ अंकसहित दोस्रो र मकवानपुर ७२.४९ अंकसहित तेस्रो भएका छन्।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्सातर्फ काठमाडौंले ८८.२० अंकसहित पहिलो स्थान हासिल गरेको छ। मकवानपुर ८८.१० अंकसहित दोस्रो र भक्तपुर ८३.२० अंकसहित तेस्रो भएका छन्।
कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र स्वास्थ्यमन्त्री किरण थापाले विजयी संस्थाहरूलाई सम्मानपत्र प्रदान गरे। उनीहरूले प्रदेश स्वास्थ्य ऐन कार्यान्वयन गरी स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।