मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३, सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीको दुःखद निधनको विषयमा पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन्।
एन्फाद्वारा सञ्चालित विद्यालय होस्टेलमा बस्दै आएका ६ जना बालबालिकाको गत असोज १२ गते बाढीबाट बच्न भाग्ने क्रममा मृत्यु भएको थियो। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पीडित परिवारले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा भएको भेटमा परिवारले कुलेखानी ड्याम खोल्ने पूर्व सूचना र लगातारको वर्षाका बीच पनि विद्यार्थीलाई सुरक्षित स्थानमा नसारिएको भन्दै लापर्वाहीको आरोप लगाएका छन्। साथै, मृतक बालबालिकाको सम्झनामा अक्षय कोष स्थापना गरी खेलकुद क्षेत्रको विकास गर्न पनि आग्रह गरिएको छ।
प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै यसको यथार्थ छानबिन गर्ने र पीडित परिवारको पक्षमा सरकार रहने प्रतिबद्धता जनाउनुभयो।
भेटमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, पूर्व संविधानसभा सदस्य सुवास ठकुरी र नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामा लगायतको उपस्थिति थियो।