हेटौंडा/ मनहरी गाउँपालिका-७ समिडाँडामा आज बिहान करिब ४ बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको हो।
दुर्घटनामा परेका घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्र र चितवनका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। जिल्ला प्रहरी मकवानपुरका अनुसार कुनै पनि यात्रु गम्भीर घाइते भएका छैनन्।
घाईतेहरु २८ जना पुरानो मेडिकल कलेज भरतपुरमा लगी उपचार भईरहेको ( जसमध्ये १३ जना मध्यम, १५ सामान्य प्रकृतीका घाईतेहरु रहेको) , स्थानिय मनहरी अस्पतालमा ३ जना सामान्य प्रकृतीका घाईते उपचार हुदै, हेटौडा अस्पतालमा ४ जना घाईते अबस्था बोल्न सक्ने सामान्य प्रकृतीका घाईतेहरुको रहेको छ । हाल सम्म अस्पतालमा पुगेका जम्मा घाईते संख्या ३५ जना रहेको प्रहरीले जनाएको छ। ।
बसका चालक महोत्तरी पिपरा गाउँपालिका-२ का ३७ वर्षीय जय किशोर कापर प्रहरी नियन्त्रणमा रहेका छन्। चालकका अनुसार बसमा ४० सिट क्षमता बराबरकै यात्रु सवार थिए।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत इलाका प्रहरी कार्यालय मनहरीबाट २ किलोमिटर पश्चिममा भएको यो दुर्घटनाले यातायात सेवामा कुनै अवरोध पुर्याएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








