हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनको तयारी सुरु भएको छ। शुक्रबार बिहान जिल्ला समन्वय समिति प्रमुख ललित घलान र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेकी छन्।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको सम्पूर्ण व्यवस्थापन सम्बन्धी कार्य यसै कार्यालयबाट हुने मुख्य निर्वाचन अधिकृत भट्टराईले जानकारी दिइन्। निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको छ।
वाग्मती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन्। जसमध्ये ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला छन्।
मतदानका लागि प्रतिभा माविमा पाँच र विष्णु ज्योति माविमा चार गरी कुल नौ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। यस अघि वडा अध्यक्षमा निर्वाचित ललित घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि वडा अध्यक्ष पद रिक्त भएको थियो।







