हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाई निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। शुक्रबार औपचारिक कार्यक्रममा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले वडा घोषणापत्र पढेर बालमैत्री वडा घोषणा गरेको हो।
कार्यक्रमको सभाध्यक्ष नरनाथ सुबेदीले बालमैत्री वडा हुन पुरै रूपमा सूचक पार गर्न केही मात्र कम रहेको बताए भौगोलिक विकटता धेरै भएको कारणले पनि सूचक पार समय लाग्ने बताए । यो वडा साबिकको बसामाडी गाउँ विकास समितिका वडा १, २, ४, ६ र ७ मिलेर बनेको छ। क्षेत्रफलको हिसाबले यो सबैभन्दा ठूलो वडा मानिन्छ, जसको कुल क्षेत्रफल ४७.०७ वर्ग किलोमीटर रहेको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, प्रवक्ता सबिन न्यौपाने, विभिन्न वडाका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम लगायत सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।







