बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भाषा र संस्कृतिलाई नेपाली पहिचानको महत्वपूर्ण स्तम्भ बताएका छन्। हेटौंडामा रेडियो नेपालको आयोजनामा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा उनले नेपाली पहिचानलाई जीवन्त बनाउन भाषा र संस्कृतिको महत्व रहेको स्पष्ट पार्नुभएको छ ।
मन्त्री लामिछानेले प्रदेश सरकारले प्रदेशभित्रका बहुसंख्यक भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने व्यवस्था गरेको र नेपाली तथा तामाङ भाषाको कार्यान्वयनका लागि नियमावली निर्माणको क्रममा रहेको जानकारी दिए। उनले मातृभाषामा निर्मित चलचित्रलाई विशेष प्राथमिकता दिने र आगामी हिउँदे अधिवेशनमा चलचित्र सम्बन्धी विधेयक प्रस्तुत गर्ने बताए।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले डिजिटल प्लेटफर्महरू मार्फत देशभित्र र बाहिरका श्रोताहरूलाई समेट्ने प्रयास भइरहेको र हेटौंडामा रेडियोको प्रादेशिक कार्यालय स्थापनाको चरणमा रहेको बताउनुभयो।
विभिन्न मन्त्रालयका सचिवहरू, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी रहेको यस कार्यक्रमले भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।








